१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशको तयारी पूरा भएको छ ।
अधिवेशन आयोजक समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार प्रदेश राजधानी विराटगरमा बसेको बैठक अधिवेशनसम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको हो ।
प्रचार समितिका संयोजक राजिव कोइरालाले दिएको जानकारीअनुसार विराटनगर अस्पताल नजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशसन उद्घाटन हुनेछ । बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा शुरु गर्ने, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गर्ने र त्यही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताएका छन् ।
प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । चुनावमा एक हजार ७ सय प्रदेश प्रतिनिधिहरुले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् ।
कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।
बुधवार बसेको अधिवेशन आयोजक समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद, महानगर, नगरपालिका–गाउँपालिकाका मेयर÷अध्यक्षहरु सहभागी थिए ।

बुधबार, मंसिर १५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]