बिराटनगर, २० साउन । १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जनालाई पक्राउ गरिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका–६ बस्ने बर्ष २३ को सुर्य राई भन्ने व्यक्तिले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका–६ बस्ने बर्ष २२ को संगम राईबाट नगद १, लाख १८ हजार, भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने बर्ष १९ को सागर राईबाट नगद एकलाख अठार हजार र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने बर्ष १९ को सरोज राईबाट नगद दुई लाख लिएको खुल्न आएको छ ।
उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएकोमा शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर पौवादुङ्मा गाउँपालिका–६ बस्ने बर्ष २३ को सुर्य राई, पौवादुङ्मा गाउँपालिका–६ बस्ने बर्ष १९ को सागर राई, पौवादुङ्मा गाउँपालिका–६ बस्ने बर्ष २२ को संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने बर्ष १९ को सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका–३ बस्ने बर्ष २१ को खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने बर्ष २७ को राजकुमार राई रहेका छन् ।