बिराटनगर, २२ जेठ । प्रहरीले चोरीको मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार इटहरी–१३ का राजेश मेहताको घरबाट चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत जेठ १२ गते सुन्दरहरैंंचा–४ बलिया स्थित मीनाकुमारी बिकको घरबाट मदनकुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नं. को रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल चोरी भएको थियो ।
चौधरीको उजुरीपछि अनुसन्धानका क्रममा मेहतालाई मोटरसाइकलसहित पक्राउ गरेपछि उक्त कार्यमा संलग्न बाँकी ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ईटहरी–२० का बलराम गुरूङ, इटहरी–२ का भवेस भन्ने सुवास लिम्बु, इटहरी–३ का मचिन राई, इटहरी–४ का गोलमोल राई, इटहरी–४ का रोमन परियार, इटहरी–४ का राते भन्ने मनोज परियार रहेका छन् ।
पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।