बिराटनगर, २१ फागुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारको निर्णय गरेको छ ।
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७६ बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई र षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७६ नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहनकाजी न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
महासंघको शुक्रबार बसेको बैठकले दुबै पुरस्कारको घोषणा गरेको हो ।
झालाई प्रदान गरिने सूचनाको अधिकार पुरस्कार–२०७६ को राशि ५० हजार एकाउन्न र सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७६ को राशि १५ हजार १५ सहित प्रमाण पत्र रहेको छ ।
उहाँहरूलाई सूचना अधिकारको क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै यी दुई पुरस्कार दिने निर्णय गरिएको हो ।
महासंघ मोरङ शाखाले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७५ बाट शिव गाउँलेलाई सम्मानित गरेको थियो । त्यस्तै, सोही पुरस्कार २०७४ सालमा तारानाथ दाहाल र २०७३ सालमा विनय कसजूलाई प्रदान गरेको थियो । प्रोत्साहन पुरस्कार यसअघि गणेश लम्साल र राजु श्रेष्ठलाई प्रदान गरिएको थियो ।
अहिले वितरण गर्न लागिएको पुरस्कार गत वर्षको चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गर्ने गरी तयारीसमेत गरेको अवस्थामा कोभिड–१९ र चैत ११ गतेदेखिको लकडाउनले गर्दा रोकिएको थियो ।
पुरस्कार हरेक वर्ष चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गर्ने प्रचलन रही आएकोमा यस वर्ष महासंघको निर्वाचन तालिका प्रकाशित भई कार्यक्रम प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै यही फागुन २८ गते शुक्रबार पुरस्कार वितरणको कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।