०३ कार्तिक २०७८, बुधबार

चीना थापा

८ महिना अगाडि

विराटनगर । ‘मेरी सानी पुतली, ठूली ठूली हुँदै छ’ साथीहरुलाई अगाडि राखेर सोनिका सुनुवारले लय हालेर कविता पाठ गरिन । राधाकृष्ण आधारभुत विद्यालय ग्रामथान गाउँपालिका वडा नम्बर–७ धोवियारेकी यी छात्रालाई कविता पढेर साथीहरुलाई सुनाउन साह्रै मन पर्छ । ‘अरु कुन किताब पढेकी छौ त ?’ प्रश्न भुईंमा खस्न नपाउँदै किताब कुनाबाट हतपत ‘प्रभावको बाख्रो’ नामको किताब निकालिन । अनि पाता पल्टाउँदै साथीहरुलाई फेरि कथा सुनाउन थालिन । ‘टिफिनमा पनि अरु साथीहरुसँग बहिर खेल्न जान्न,’सोनियाले भनिन्,‘दराजका किताब झिकेर पढ्छु ।’
निसीका माझीचाहिँ विद्यालयका किताब घर लिएर जान्छिन । पढ्छिन । अनि फिर्ता ल्याउँछिन । कक्षा–३ की यी छात्रालाई चित्र बनाउन औधि मन पर्छ । ‘किताब च्यात्नु हुँदैन, जतन गर्नुपर्छ । साथीहरुसँग झगडा गर्नुहुँदैन, सरसफाईमा पनि ध्यान दिनुपर्छ,’माझीले भनिन्,‘म त कथा–कविता पढ्छु । साथीहरुलाई पनि सुनाउँछु । मन परेको किताब घरमै लगेर पनि पढ्छु । आमालाई पनि सुनाउँछु ।’
मोरङका धेरै विद्यालयमा किताब कुनाको स्थापना भएपछि विद्यार्थीमा पढ्ने उत्साह थपिएको विद्यालयका शिक्षक दाबी गर्छन । कक्षाकोठाको एउटा दराजमा पाठ्यक्रमबाहेकका पुस्तक राख्ने कार्यक्रम नै किताबको कुना हो । ती किताबले विद्यार्थीमा अतिरिक्त ज्ञान दिन मद्दत मिलेको सुनाउँदै बेगनलाल निमाविका प्रधानाध्यापक कृष्णहरि घिमिरेले भने,‘किताबका कुनामा उपलब्ध पुस्तकले विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव परेको छ ।’
राष्ट्रिय सामुदायिक विकास केन्द्रसंगको साझेदारीमा मोरङ्ग र सेभ द अर्थ सुनसरीमा वल्र्ड बैङ्गको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनलको प्राविधिक सहयोगमा ९०९ सामुदायिक विद्यालयलाई केन्द्रित गरेर किताब परियोजना संचालित छ । स्थानीय सरकारसंग समन्वय, सहकार्य र पृष्ठपोषणलाई मध्यनजर गर्दै परियोजनाका कार्यक्रम निर्धारण हुँदै आएको छ । किताब कुना कक्षाकोठामा रहेको पुरक सामाग्री संग्रह गरिएको कुना हो । त्यहाँ विद्यार्थीले सजिलै भेट्ने गरी कम्तिमा ५० प्रकारका सन्दर्भ सामाग्री पुस्तक राखिएको हुन्छन् । बाल कविता, कथा, चित्रकला, वर्णमाला आदि प्रकारका पुस्तक राखिन्छ । यसको उद्देश्य आधारभुत पढाई सीप (अक्षर चिनारी, ध्वनी सचेतीकरण, शब्द भण्डार, पठनवेग र बोध) विकास गर्नु हो । यी पुस्तकहरु झोला,र्याक वा दराजमा राखिन्छ ।
सामुदायिक विद्यालयबारे अभिभावकहरुको गुनासो हुने गर्छ विद्यार्थी थोरै हुन्छन, पढाईमा ध्यान नदिएर बाहिर खेलिरहन्छन्, टिफिन समयमै घर भागिदिन्छन् आदि यस्तै यस्तै । शिक्षकहरुको पनि उस्तै गुनासो सुनिन्छ । ‘अभिभावकले आफ्ना नानीलाई राम्ररी समन्वय नै गरिदिदंैनन् ।’ मोरङको ग्रामथान गाउँपालिकाका कतिपय सामुदायिक विद्यालय भने यस्ता गुनासाहरुबाट मुक्त र टाढा छन् । श्रीबेगनलाल निम्न माध्यामिक विद्यालय र श्रीराधाकृष्ण प्राथमिक विद्यालय त यसको उदाहरण हुन ।
ती विद्यालयमा टिफिन समयमा विद्यार्थी कथा–कविता पढ्छन । कोहीकोही चित्र बनाउन व्यस्त हुन्छन । पढ्न नभ्याउनेले आफूलाई मन पर्ने किताब घर लिएर जान्छन । लगेर घरमै राख्न पाइँदैन । पढेर फिर्ता ल्याउनु पर्छ । किताब जतन गर्नुपर्छ, सरसफाईमा ध्यान दिनुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ, ठूलालाई आदर गर्नुपर्छ, गुरुले भनेको मान्नुपर्छ, झगडा गनर््हुदैन भन्ने व्यावहारिक कुराहरुसमेत विद्यार्थीमा ज्ञान बढेको र नयाँ नयाँ कुरा सिक्न पाएको प्रअ घिमिरेले बताए ।
बेगनलालकै कक्षा ३ का छात्र राम सरदारलाई चित्र बनाउन मनपर्छ । घर पुगेर बुबालाई पनि चित्र बनाएर देखाउँछन । भने,‘हाम्रो आफ्नै भाषाको किताब भए त अझ सजिलो हुने थियो ।’ विद्यालय पुगेर ‘यो दराजमा भएको किताब क–कस्ले पढ्नुभएको छ ?’ भन्दै प्रश्न गर्दा विशाल र आर्यान सरदारले एकै स्वरमा भने ‘हामीले’ । हतार हतार झोलाबाट कापी पेन्सिल झिकेर चित्र कोर्न थाले । घरको चित्र हुवहु उतारे ।
विद्यालयमा किताब कुना परियोजना लागू भएपछि विद्यार्थीहरु पढ्न उत्साहित भएको बेगनलालका प्रअ घिमिरेको भनाई छ । त्यहाँ दुई वर्ष अघिदेखि किताब कुना सञ्चालनमा छ । हाल कक्षा ३ सम्म रहेको किताब कुना कक्षा ५ सम्म पुर्याउने लक्ष्य छ । विद्यालयले २०७५ मा ५० वटा राखिएको थियो । २०७६ मा एक सय ३० वटा थपिए । थप ६० वटा माग गरएको छ । ‘गत वर्ष विराटनगर बजारमा खोजेर किन्दा निकै झन्झट भएको थियो,’ घिमिरेले भने,‘अहिले किताब बजारबाट लिंदा भने निक्कै सजिलो भएको छ ।’ विद्यालयमा ४ सय २ जना विद्यार्थी छन । तीमध्ये पनि सीमान्कृत मुसहर, थारु र बाँतर समुदायका धेरै छन ।
राष्ट्रिय सामुदायिक विकास केन्द मोरङ्गकी परियोजना प्रबन्धक शोभा बजगाईंका अनुसार जिल्लाका बेलबारीबाहेक १६ वटा स्थानीय तहका ५०२ विद्यालयले ‘डिजिटल प्लेटफर्म’मार्फत किताब मगाएका छन । बजगाईं भन्छिन्,‘परियोजना फर्किएर गएपनि लागू भएका पालिकाहरु आफैंले यसलाई निरन्तरता दिउन भन्ने लक्ष्य हो । यसमा धेरै पालिकाहरु सकारात्मक देखिएका छन ।’
मातृभाषाको किताबमा जोड
राधाकृष्ण प्राथमिक विद्यालय धोवियारेले भने मातृभाषाका किताबमा जोड दिएको छ । थारु, मुसहर, सुनुवार, सरदार र बाँतर जातिको बाहुल्य रहेकोले यो वर्ष मातृभाषाका किताब राख्ने तयारी थालिएको छ । अघिल्लो वर्ष नेपाली भाषाकै किताब ल्याइएको थियो । किताब कुना सञ्चालन गरेको विद्यालयले पहिलो वर्ष १५ वटा किताब खरिद गर्दा एक सय ३५ वटा निःशुल्क प्राप्त गरेको थियो । दोस्रो वर्ष १५ वटाको खरिदमा थप १५ प्राप्त भयो । प्रधानाध्यापक हरिनारायण सरदारले भन्छन्,‘यो वर्ष सबै किताब थारु भाषाकै खरिद गर्ने योजना बनाएका छौं । मातृभाषाको किताब हुँदा विद्यार्थीले झन उत्साहित भएर पढ्ने रहेछन ।’ विद्यालयमा २ सय १४ जना विद्यार्थी छन् ।

शनिबार, फाल्गुण ०१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]