इटहरी, २१ मघ । इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई लेखनवृत्ति (फेलोशिप) प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा उपमहानगरले १० जना पत्रकारलाई लेखनवृत्ति वापतको रकम बुधबार हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बीच प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृत्ति प्रदान गर्नुभयो ।
१० जना पत्रकारले इटहरीको विकास गतिविधिका बारेमा खोज अनुसन्धान गरी फिचर तयार गर्नुभएको छ । लेखनवृत्ति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरी २५ जना पत्रकारलाई दुईदिने फिचर लेखन तालिमसमेत सम्पन्न गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख चौधरीले इटहरीका संचारमाध्यमले इटहरीको विकास निर्माण र सम्मृद्धिमा पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरीका सबै संचारमाध्यमको हितमा उपमहानगर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटाले पत्रकार महासंघसँगको सहकार्यलाई निरन्तरता दिइने जनाउनुभयो ।
उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले उपमहानगरले पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा प्रदान, पत्रकारहरुका लागि फेलोशिप, पुरस्कार, तालिम, संचारमाध्यमहरुलाई रेडियो टेलिभिजन कार्यक्रम उत्पादनका लागि सहयोग गर्दै आएको बताउनुभयो ।
पत्रकार महासंघकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले इटहरी उपमहानगरले मिडिया क्षेत्रमा गर्दै आएको सहयोगका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन गर्नुभयो । अग्रज पत्रकार शालिग्राम पाण्डेले फिचर लेखन तालिमसमेत संचालन गरेर लेखनवृत्ति प्रदान गरिनु सकारात्मक रहेको बताउनुभयो । लेखनवृत्ति प्राप्त गरेका पत्रकार सन्तोष यादवले उपमहानगरले प्रदान गर्दै आएको लेखनवृत्तिका कारण पत्रकारहरु उत्साहित रहेको बताउनुभयो ।