विराटनगर, २१ माघ । यस क्षेत्रका वेरोजगार युवा युवतीलाई रोजगार उपलव्ध गराउन बुधबारदेखि कर्मशिल डट कम अनलाईन पोर्टल संचालन गरिएको छ ।
उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले यस क्षेत्रका उद्यमी व्यवसायीहरुलाई आवश्यक पर्ने जनशक्ति सहज एवं सरल रुपमा उपलव्ध गराउने विश्वास गरिएको छ ।
प्रदेश नं. १ का प्रमुख सचिव दिनेश भट्टराईले पोर्टलको शुभारम्भ गर्दै दक्ष जनशक्तिको अभावको कारण उद्योगको उत्पादनमा परेको असरलाई यसले समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले उद्योगीहरुलाई आफ्नो उद्योगमा प्रशिक्षार्थीहरुलाई तालिम दिएमा लाग्ने खर्च उद्योग ऐन–२०७७ अनुसार उद्योगको खर्चमा समावेश गरी आयकर कट्टा हुने हुनाले यसलाई उपयोग गर्न आग्रह गर्नुभयो ।
इन्स्योरका टीम प्रमुख सुभाष सुवेदीले काम खोज्ने र लगाउनहरुको माध्यमको रुपमा पोर्टलले कार्य गर्नुका साथै शिक्षालाई उद्योगसँग जोड्ने बताउनु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष एवं रोजगारदाता राकेश सुराना, नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेल र जिफन्टका प्रदेश प्रमुख किशोर धमलालगायतले युवायुवतीलाई यस क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने जनशक्ति अनुरुपको व्यवसायिकका साथै प्रयोगात्मक तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो ।