विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् ।
सक्रिय सक्रमितमध्ये ३९१ जना होम आईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । बुधबारसम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २, विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । बुधबार १५ जना संक्रमित थपिएका छन । मोरङको विराटनगरमा ७, बेलबारी, जहदा र सुन्दरहरैचामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र झापाको विर्तामोड र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।