०२ कार्तिक २०७८, मंगलबार

दर्शन सम्वाददाता

१० महिना अगाडि

विराटनगर, ४ पुस । सामाजिक विकासमन्त्री जीवन घिमिरेले २०७८ साल बैशाख मसान्त भित्र १ नं. प्रदेशलाई मानव सडकमुक्त प्रदेश घोषणा गरिने बताउनु भएको छ ।
शनिबार विराटनगरमा आयोजित सहयोगापेक्षी सकड मानव उद्दार तथा पुर्नस्थापना अभियान बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिमिरेले यहि पुस ७, ८, ९, १० र ११ गते सडक मानवहरुको उद्दारको अभियान चलाईने समेत बताउनुभयो । ७ र ८ गते बालबालिकाको उद्दार गर्ने र ९, १० र ११ गते जेष्ठ नागरिक, मानसिक रोगी, अपांगहरुको उद्दार गरिने उहाँको भनाई छ ।
उद्दारपछि सडकमा मागेर हिंड्न पाईने छैन भन्ने जनचेतना जगाउँदै पुर्नस्थापना गरिएकाहरु फेरि सडकमा आए की आएनन् भनेर हेरिने पनि मन्त्री घिमिरेले बताउनुभयो । उहाँका अनुसार यसभन्दा अगाडि उद्दार गरिएका ९२ जना मानव सेवा आश्रम विराटनगरमा रहेका छन् भने एक सय पचास जना यो पटकको अभियानमा हुने अनुमान गरिएको छ ।
सडक मानव उद्दारमा हुने खर्च भने सामाजिक विकास मन्त्रालय, महानगर, नगरपालिका र गाउँपालिकाले बेहोर्ने बताउँदै मन्त्री घिमिरेले हरेक पालिकालाई ३० हजार सहयोग गर्न अपिल गरिएको र अभियानमा १२ देखि १५ लाखसम्म खर्च लाग्ने बताउनुभयो । उद्दार गरिएकाहरुलाई तीन स्थानमा राख्ने तयारी गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँका अनुसार उद्दार गरिएका बालबालिकालाई सुनसरी इटहरीको भ्वाइस अफ चिल्ड्रेन (भीओसी), अपाङ्गता भएकाहरुलाई झापाको खगेन्द्र नवजीवन केन्द्र र अन्यलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।
१ नं. प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजन तथा १ नं. प्रदेशका स्थानीय तहहरु र मानव सेवा आश्रम विराटनगरको सहकार्यमा सुरु भएको यो अभियान पहिलो चरणमा झापा, मोरङ र सुनसरी जिल्लाका सबै सथानीय तहहरुबाट सहयोगापेक्षी सडक मानवहरुको खोजी तथा सूचना संकलन गरिने बताईएको छ । पुस ८ गतेसम्म झापा, मोरङ र सुनसरीका सबै स्थानीय तहहरुले सहयोगापेक्षी मानवहरुको खोजी तथा सूचना संकलन गरी मन्त्रालयलाई जानकारी गराउनुपर्ने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । केही समयपछि प्रदेश एकका सबै जिल्लामा यो अभियान चलाईने र अभियान व्यवस्थापनका लागि स्थानिय तहका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र प्रमुख जिल्ला अधिकारी रहनुभएको ३ सदस्यीय व्यवस्थापन समिति रहेको समेत कार्कीले जानकारी दिनुभयो ।
मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्दार कार्यक्रम (मेची–महाकाली) संचालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मानव सेवा आश्रम विराटनगरले उद्दार गरिएका १५० जना राख्न सक्ने गरी क्षमता विस्तार गरेको बताउनुभयो ।

शनिबार, पौष ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]