१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल शुरु गर्नुभएको छ ।
मुआब्जा विवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उहाँले बुधबार मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताउनु भएको छ ।
जनप्रतिनिधिविहीनताको अवस्थामा स्थानीयको आवाज नसुनिएका कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको उहाँले बताउनुभयो । रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकन गरी मुआब्जा वितरण शुरु गरिएको थियो । मुआब्जा वितरण बैज्ञानिक नभएपछि करिव २२ घर परिवारले मुआब्जा लिन मानेका छैनन् । मन्त्री घिमिरेले पुर्नमूल्यांकनका लागि हुनेसम्म पहल गर्ने बताउनु भयो । उहाँले स्थानीयको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो, ‘परियोजना जति छिटो बन्छ, त्यति छिटो स्थानीयले लाभलिन सक्नेछन् ।’ उहाँले राजनीतिक रुपमा पनि समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जग्गाको पुर्नमूल्याकंनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताउनुभयो । गृह मन्त्रालयबाट निर्णय भएर आए गर्न सकिने उहाँको भनाई छ । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकठ्ठा ८ लाख भन्दा कम पाउनेहरुले मुआब्जा नलिएको बताउनुभयो । पीडितका समस्या समाधान नगरि डोजर चलाएर विकास निर्माणको कार्य अघि बढाउन नसकिने उहाँको भनाई छ । प्रमुख कामतले पुर्नमूल्यांकन गरेर मुआब्जा वितरणका लागि पहल गरिदिन मन्त्री घिमिरे समक्ष आग्रह गर्नुभयो ।
स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्यांकन फरक–फरक भएपछि मुआब्जा नलिएको बताउनुभयो । मुआब्जाको विवाद छिटो मिलाउन उहाँले आग्रह गर्नुभयो । जग्गाको मूल्यांकनपछि ९ बर्षमा पहिलो पटक पीडितका कुरा सम्वन्धित निकायले सुनेको चौधरीले बताउनुभयो । पीडितसँग कहिलै सरोकारवालाले छलफल नगरेको उहाँको गुनासो थियो ।
रेल विभागका साइट इन्जिनियर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानुनी प्रक्रिया पुरा भईसकेको बताउनुभयो । कानुनी प्रक्रिया अघि बढेकाले चाँडै काम शुरु गर्ने उहाँको भनाई छ ।
दुई वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०११ मा सुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये पाँच किमिमा भारतमा पर्छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३.६ किमि भूभाग पर्छ । विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भएपनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको ३ किमि क्षेत्रमा काम अबरुद्ध छ ।

बुधबार, पौष ०१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]