इटहरी, १६ मंसिर । एकै घरका चार जना छोराछोरी अपांगता भएको परिवारलाई इटहरी उपमहानगरले यस बर्ष पनि एक लाख प्रदान गरेको छ ।
इटहरी–२ तामाङ्ग चौक स्थित लक्ष्मण तामाङ्गको घरमै आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।
तामाङ्ग परिवारका १५ देखि ३० बर्षसम्मका दुई छोरा र दुईछोरी कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो वाहेक कोही पनि बोल्नसमेत सक्दैनन । उठेर हिंड्न त परै जाओस्, बस्न पनि सक्दैनन्, ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि विस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।
गत बर्ष पनि चार जना अपांङ्गता भएका छोरा छोरीको भरणपोषणका लागि प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरको तर्फबाट एक लाखको चेक घरैमा गएर प्रदान गर्नुभएको थियो । यसअघि गत बर्ष नै उपप्रमुख गौतमले लक्ष्मण तामाङ्गकी जेठी छोरी अस्मिता, जेठो छोरा सरोज, कान्छी छोरी सुस्मिता र कान्छो छोरा संदीपलाई पूर्ण अपांङ्गता भएको रातो कार्ड घरमै पुगेर वितरण गर्नुभएको थियो । रातो कार्ड प्राप्त गरेपनि उनीहरुले मासिक प्रतिब्यक्ति तीन हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन ।
इटहरी सरकारले घरमै आएर निरन्तर सहयोग गरेकोमा उनीहरुका बुवा लक्ष्मण तामाङ्ग खुशी ब्यक्त गर्नुहुन्छ । उहाँले घर आँगनमै सरकार आएको महशुस भएको बताउनुभयो । लक्ष्मण तामाङ्गका अनुसार जेठी छोरी अस्मिता सात बर्षसम्म सबै ठीक थिइन् । त्यसपछि विस्तारै आँखा देख्न छाडिन, एक बर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने वेहोस हुने समस्या भयो, केहि समय पछि केहि थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरु दुई जनालाई पनि ठ्याक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिंडडुल गर्न भने सक्छन ।
यसैबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा इटहरी उपमहानगरद्वारा मायाँ घर इटहरीमा रहेका ४७ जनालाई न्यायो कपडा वितरण गरिएको छ । उपप्रमुख गौतमले मायाँ घर इटहरीमा आश्रय लिएका ब्यक्तिहरुलाई न्यायो कपडा वितरण गर्नुभएको हो ।