इटहरी, १२ मंसिर । इटहरीका गाउँ गाउँमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई विकेन्द्रित गरिएको छ ।
अभियानका क्रममा इटहरीका सबै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सबै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहि क्रममा शुक्रबार वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो ।
वडामा लैगिंक हिंसाको अवस्था, चुनौती, साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य, समस्यालगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना बनाइने उपप्रमुख गौतमले बताउनुभयो ।
खुल्ला ठाउँमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ । १२ देखि २३ गतेसम्म अन्तरक्रिया कार्यक्रम गरिने छ । अपांङ्गता भएकाहरु, बालबालिका र जेष्ठ नागरिकका लागि छुट्टा छुट्टै कार्यक्रमहरु तय गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा टोल टोलमा पुग्ने गरी ४० बढि कार्यक्रम आयोजना गरिने छन ।
उपप्रमुख गौतमले भन्नुभयो ‘कोरोना छ भनेर चुप लागेर बस्नु हुँदैन, धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन, स–सना कार्यक्रम बनाएका छौं वडा–वडा टोल टोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरेर अभियानलाई विगत वर्ष भन्दा अझ ब्यापक बनाउँदै छौं । अभियानका क्रममा न्यायिक समिति संयोजक उपमेयर गौतम,न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला संजालसहित सबै वडाका टोल–टोलमा पुगेर अन्तरक्रिया सुरु गरिएको हो ।
अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार ब्रोसर वितरण गरिंदै छ । ब्रोसरबाट हिंसामा परेपछि के गर्ने ? कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपमेयर गौतमले बताउनुभयो ।