विराटनगर, २१ कार्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत शुक्रबार ३४ बटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नु भयो ।
ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्बासीहरूलाई जस्तापाता लगाएको शौचालयसहितको तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो ।
सुनसरी मोरङ सिंचाइ आयोजनाअन्तर्गत नहरको ढिलमा बसेका सुकुम्बासीहरूको घर आयोजनाले भत्काएपछि घरबार विहीन भएका उनीहरुलाई उक्त घर हस्तान्तरण गरिएको हो ।
संघीय सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम, तराइ मधेश सम्बृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको तीन करोड चार लाख ४१ हजार ३४ को लागतमा उक्त घर निर्माण गरिएको हो । दुई वटा घर निर्माणाधीन अवस्थामा रहेकोले पछि हस्तान्तरण गरिने सोही अवसरमा बताइयो ।
मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोवासका लागि घर निर्माण गर्ने बताउनु भयो ।
उहाँले भूमिहीन किसानलाई भूमि दिन भूमि आयोगले काम शुरु गरिसकेको जानकारी दिंदै वर्तमान सरकारको कार्यकालमा सुकुम्बासी र भूमिहीन किसानलाई भूमि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले निर्वाचनमा गरिएको बाचा र प्रतिवद्धता पूरा गराउन तीन तहको सरकार इमान्दार भएर कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवन स्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुँच पु¥याएर स्वरोजगार बनाउन कटिबद्ध रहेको छ भन्नुभयो ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताको जीवनस्तर उकास्न शीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताउनु भयो ।
संघीय सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेको नमूना बस्तीमा उचित रेखदेख गरी वसोवास गर्न आग्रह गर्नुभयो । उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले वर्तमान सरकार नागरिकको समृृद्धि कायम गर्न पर्यटन पूर्वाधारमा जोड र कृषिमा यन्त्रको प्रयोगबाट रोजगारी वृद्धि गर्ने बताउनु भयो ।