रंगेली, १७ कार्तिक । रंगेली नगरपालिका–७ स्थित पिन्टुु दत्तकोे घरमा पुजाको प्रसाद खाँदा ४० जना बढी बिरामी परेका छन् ।
कोजाग्रत पूर्णिमाका दिन बंगाली समुदायले प्रत्येक बर्ष पूर्णिमाको राति लक्ष्मी पूजा गर्ने र त्यस दिन जागरामसमेत बस्ने गरेका छन् । सोही क्रममा १५ गते शनिबार राति पिन्टुको घरमा लक्ष्मी पूजा गरेर उनीहरुले आफन्त तथा ईस्टमित्रहरुलाई प्रसाद ग्रहणका लागि निमन्त्रणा गरेर पछि सबै भेलासमेत भए पूजा सकिएपछि ४० भन्दा बढीले सो पूजाको प्रसाद ग्रहण गरेका थिए । पूजाको प्रसाद ग्रहण गरेको २४ घन्टा नबित्दै युवा, बालबालिका, महिलालगायतलाई झाडापखाला सुरु भएपछि उनीहरु रंगेली अस्पतालसम्म पुगेका छन् ।
पिन्टुको घरका सबै बिरामी परेका छन् भने रंगेली अस्पतालमा ३० बर्षका रमेश शर्मा, १४ बर्षका बजरंग मण्डल, २२ बर्षका सरस्वती शर्मा, ३६ बर्षका मनोज सोनी, २० बर्षका सन्तोष शर्मा, १५ बर्षका कृष्ण शर्मा, २८ बर्षका उमेश शर्मा ६५ बर्षका बीनादेवी साह, ४० बर्षका गयानन्द मण्डललगायतको रंगेली अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
रंगेली अस्पतालका मेडिकल अधिकृत स्वेता मण्डलका अनुसार आइतबार रातिदेखि अस्पतालमा झाडापखाला हुने, वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने बिरामीहरु आएको र उनीहरुले एउटै घरमा पूजाको प्रसाद खाएको हुनाले उनीहरुलाई फुड पोईजन भएको हुनसक्ने समेत बताए । मण्डलका अनुसार पूजामा खाना राम्रोसंग नपाकेको, पानी सफा नभएको र बजारबाट खरिद गरेर ल्याएको हरियो साग सब्जीमा राम्रो देखाउन ब्यापारीहरुले बढी मात्रामा किटनाशक प्रयोग गरेको हुनसक्ने र घरमा ल्याएर राम्रोसँग नपाकेको कारणले गर्दा फुड पोईजन भएको हुनसक्ने उनले बताईन् । फुड पोईजनका कारण बिरामी परेकाहरुलाई निको हुन दुई दिनदेखि ३ दिनसम्म लाग्न सक्ने उनले बताईन् । अहिले अस्पतालमा बिरामीको चाप बढेपछी बालबालिकादेखि वृद्धहरुसमेत घरमै स्लाईन पानी चढाएर बिरामीहरु उपचार गराईरहेका छन् ।