०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

पाँचथर, १२ कार्तिक । मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा संक्रमण देखिएपछि बुधबारदेखि कार्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कार्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण देखिएको थियो । बुधबार संक्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो । छ संक्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस संक्रमणका लक्षण देखिएको चम्लागाईँले जानकारी दिनुभयो । उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् । पाँचथरमा पहिलो पटक समुदायमा कोभिड–१९ संक्रमण देखिएको हो ।

बुधबार, कार्तिक १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]